सिनेमामा लगानी अब लाख हैन करोड माथी

राधिका कँडेल  

पहिले–पहिले सिनेमाको लगानी लाखमा सिमित थियो भने अहिले करोडमा पुगेको छ । लगानी सँगै सिनेमाको कारोबार पनि राम्रो भएका कारण पनि निर्माताहरु सिनेमामा लगानी गर्न निर्धक्क हुन थालेका छन् । यतिबेला नयाँ देखि पूराना कलाकारहरुलाई समावेश गरेर काम भईरहेको सिनेमा ‘शत्रु गते’ निर्माणमा डेढ करोड रुपैयाँ खर्च हुने भएको छ । महका ‘ह’ हरिवंश आचार्यले हामीसँगको कुराकानीमा सिनेमा निर्माणको लागि १ करोड ५० लाख लाग्ने जानकारी दिएका छन् । यस अघि पनि केही सिनेमाहरुले आफ्नो लगानी करोडभन्दा माथि गरेका छन् जसमध्ये केहीले लगानी उठाएका छन् भने केहीले उठाउन सकेका छैनन् । आगामी सिनेमा ह्याप्पी डेज, कृ, राज्जा रानी, कान्छी, पनि करोड भन्दा माथिको बजेटमा निर्माण भएका सिनेमा हुन् । हाल छायाकंन भईरहेको सिनेमा ‘लिलिबिलि’को लगानी पनि करोड भन्दा माथि नै देखिएको छ । विदेशमा छायाकंन गरेका कारण सिनेमाको लगानी धेरै हुन गएको हो । सन् २०१७ भित्र करोड भन्दा माथिको लगानीमा निर्माण भएका सिनेमाहरुको बारेमा कुरा गर्नुपर्दा छक्का पञ्जा २,लुट २, रुद्रप्रिया, प्रेम गीत २ लगायतका सिनेमाको नाम आउँछ ।

दीपाश्री निरौलाको निर्देशन तथा हाँस्यकलाकारहरुको सयुंक्त निर्माण रहेको सिनेमा ‘छक्का पञ्जा २’को लगानी एक करोड भन्दा माथि पुगेको थियो । तर चाखलाग्दो कुरा सिनेमाले लगानी रिलिज अगावै उठाएको थियो । यस सिनेमाको ओभरसिज र डिजिटल अधिकार नै एक करोडमा बिकेको थियो । यस सिनेमाको प्रिक्वेल‘छक्का पञ्जा’ का सफलताका कारण यो टिमले सिक्वेलमा लगानी गर्न कन्जुस्याई गरेको थिएन । लगानी भयो भने सिनेमा राम्रो बन्ने र त्यसको फल पनि राम्रै हुनेमा आफूहरु ढुक्क भएको यो टिमको भनाई छ । छक्का पञ्जा २ ले झण्डै १६ करोडको कारोबार गर्यो ।

उता १ करोड ६० लाखको लगानीमा निर्माण भएको सिनेमा ‘लुट २’ले दुई दिनमै तीन करोडको कारोबार गरेको थियो । यसको प्रिक्वेल ‘लुट’का कारण पनि सिनेमाको शुरुवाती कारोबार आक्रामक रह्यो । तर यसले खासै धेरै दिनसम्म आक्रामक कारोबारमा निरन्तरता पाएन ‘लुट’कै सफलताका कारण निर्माण पक्षले ‘लुट २’ को लागि पैसा र समय धेरै खर्चेको थियो । सिनेमामा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा शाक्य, एलिशा राई लगायतका कलाकारहरुको मुख्य भूमिका थियो ।

यसै वर्ष रिलिज भएको अर्को सिनेमा ‘रुद्रप्रिया’ पनि करोड भन्दा माथिको लगानीमा बनेको सिनेमा हो । सरस्वती थापा र आर्यन फिल्मसको निर्माण तथा सुदीप बबी भुपाल सिंहको निर्देशन रहेको यस सिनेमाले औषत कारोबार गरेको थियो । यसमा आर्यन सिग्देल र रेखा थापाको मुख्य भूमिका छ । रेखा र आर्यनले ‘रुद्रप्रिया’ मार्फत सात वर्ष पछि पर्दा बाँडेका कारण रिलिज अगाडि निकै चर्चा भएको थियो । तर चर्चा जति सिनेमाले सफलता भने पाएन ।

सन्तोष सेनको निर्माण तथा रामशरण पाठकको निर्देशन रहेको सिनेमा ‘प्रेम गीत २’को कुल लगानी दुई करोड भन्दा माथि भएको निर्माताले बताईसकेका छन् । नेपालसँगै विदेशमा सिनेमाको आधा भन्दा धेरै छायाकंन गरिएको थियो । सिनेमामा समावेश थाईल्याण्ड र बर्माका सिन दर्शकल रुचाएका थिए । विदेशमा खिचिएका कारण पनि यस सिनेमाको लगानी धेरै हुन आएको थियो ।

यसका साथै सन्तोषले सिनेमाका कलाकारको पारिश्रमिकमा समेत लोभ गरेका थिएनन् ।

निर्माता सेनले प्रिक्वेल ‘प्रेम गीत’को सफलताका कारण लगानी गर्ने आँट गरेको बुझिन्छ । उनको आँटलाई दर्शकले खेर जान पनि दिएनन् । सिनेमाले नेपालबाटै ८ करोड भन्दा धेरैको कारोबार गरेको थियो । यतिबेला यो सिनेमा विदेशमा प्रदर्शन भईरहेको छ ।
हेमराज बिसीको लेखन तथा निर्देशन रहेको सिनेमा ‘ग्याङस्टार ब्लुज’को लगानी पनि एक करोड भन्दा माथि पुगेको निर्माताहरुले जनाएका थिए । आना शर्मा र आशिरमान देशराज जोशीको मुख्य भूमिका रहेको सिनेमाले कारोबार पनि राम्रै गर्यो । निर्माताका अनुसार सिनेमाले नेपालबाटै लगानी उठाएको छ ।

यो वर्ष एक करोड भन्दा माथिको बजेटमा बनेको अर्को सिनेमा हो ‘ए मेरो हजुर २’ । सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको यस सिनेमामा सुनिल कुमार थापाले नै लगानी गरेका हुन् ।

सिनेमामा साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बनियाको मुख्य भूमिका छ । नेपालबाटै लगानी उठाएको यो सिनेमा अहिले विदेश प्रदर्शनमा छ ।

‘मेरो पैसा खोई’पनि यो वर्ष एक करोड भन्दा धेरैको लगानीमा बनेको सिनेमाको सूचिमा छ । तर यो सिनेमा कारोबारमा भने सफल भएन । सिनेमाको निर्माणमा करोड खर्चेका निर्माताले लगानी उठाउन भने सकेनन् । अर्को सिनेमा ‘छक्का पञ्जा २’सँग जुधेका कारण यस सिनेमाको कारोबार खस्किएको हो । सिनेमामा सौगात मल्ल र वर्षा राउत मुख्य भूमिकामा छन् । रोज राणाको निर्माण रहेको यस सिनेमालाई पहिले बलिवुड निर्देशक विवेक शर्माले निर्देशन गर्ने कुरा थियो तर पछि आपसी असमझदारीका कारण विवेकले सिनेमाको काम बीचमै छोडे । पछि यसलाई रोज स्वयमले निर्देशन गरेका थिए । रमेश उप्रेतीको निर्माण तथा दीवाकर भट्टराईको निर्देशन रहेको सिनेमा ‘ऐश्वर्य’को लगानीपनि एक करोड भन्दा माथि नै पुगेको छ । शुरुमा सिनेमाको लागि एक करोड बजेट छुट्याईएको थियो तर पछि यो बजेट कम भयो र लगानी बढ्यो । यस हिसाबले सिनेमाको लगानी एक करोड भन्दा धेरै हुन गयो । लगानी अनुसार सिनेमाको कारोबार पनि राम्रो हुन गयो । यस सिनेमाले पहिलो सातामै लगानी उठाएको थियो । सिनेमामा रमेश उप्रेती, दीपिका प्रसाईँ र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् ।

अभिनेत्री छुल्ठिम गुरुको पहिलो निर्माण सिनेमा ‘डायरी’को लगानी पनि एक करोड भन्दा माथि नै थियो । तर सिनेमाको कारोबार भने औषत रहन गयो । यस सिनेमामा छुल्ठिम गुरुङ र सन्नी सिंह मुख्य भूमिकामा छन् भने रेखा थापाले भिलेनको भूमिका निर्वाह गरेकी छिन् । सिनेमालाई अनिल योन्जनले निर्देशन गरेका हुन् भने छुल्ठिमले निर्देशकसँगै मिलेर निर्माण गरेकी हुन् । जापनिज निर्देशकले निर्देशन गरेको सिनेमा ‘माई लव’को लगानी साढे तीन करोड भन्दा धेरै पुगेको थियो । तर यस सिनेमाले नेपालमा लगानी उठाउन सकेन । मंसिर २९ देखि प्रदर्शनमा आएको यस सिनेमाको कारोबारको आधिकारिक जानकारी नै सार्वजनिक भएन । केहीले सिनेमाको कारोबार लाखमा सिमित रहेको बताएका छन् । यस सिनेमामा गणेश लामा र सित्तल श्रेष्ठको मुख्य भूमिका छ । भुकम्पको कथा समावेश गरिएको यस सिनेमामा धरहरा ढलेको सिनले हलसम्म दर्शक आउने अपेक्षा निर्माताहरुले राखेका थिए तर त्यसो भएन ।

You might also like

Comments

Loading...