जन्मजातै दृष्टिविहिन छविको क्यारिकेचर गर्ने कला

जन्मजात दृष्टीबिहिन गोरखाका छवि आलेले कार्यक्रम सञ्चालकको रुपमा रेडियोमा २ वर्ष काम गरे । २०७१ सालदेखि उनले रेडियो मनास्लुमा ब्रेक फेल नामक हाँस्यव्यङग्य कार्यक्रम सञ्चालन गरे । २०७२ सालको अन्तिमतिर भने उनले रेडियो छोडे ।
छविले कार्यक्रम चलाउन कुनै पनि तालिम लिएका थिएनन् । उनी आफ्नै जीवन भोगाईका आधारमा रेडियोमा बोल्न सकेको बताउँछन् । अहिले पत्रकारिता अध्ययन गरिरहेका उनले रडियोमा बोल्न थालेपछि भने तालिम लिए । रेडियो सुन्दा सुन्दै बोल्ने शैलीमा विकास भएको उनी बताउँछन् ।

उनमा रेडियोमा बोल्नै मात्रै हैन देशका विभिन्न हस्तीहरुको हुबहु नक्कल गरेर बोल्ने कला पनि छ । उनी केही नेता र कलाकारहरुको दुरुस्तै क्यारीकेचर गर्छन् । जसमा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई, एकिकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले नेता केपी शर्मा वली, कांग्रेस नेता शेरबहादुर देउवा, कलाकार सीतारम कट्टेल धुर्मुस, कुमार कट्टेल उर्फ जिग्री, अर्जुन घिमिरे उर्फ पाँडे, अभिनेता राजेश हमाल, विराज भट्ट, भुवन केसी, पूर्व राजा ज्ञानेन्द्र, पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सञ्चारकर्मी तथा विवेकशिल साझा पार्टीका नेता रविन्द्र मिश्र लगायतको क्यारीकेचर गर्छन् ।

उनी आफ्नो जीवनको लक्ष्य भनेकै रेडियो मार्फत सबै श्रोता हँसाउने हो भन्छन् । उनी सुनेकै भरमा अरुको नक्कल गर्छन् । सानै देखि क्यारीकेचर गर्ने उनलाई कक्षा २ मा पढ्दादेखि नै शिक्षकहरुले समेत क्यारिकेचर गर्न लगाउँथे । त्यसबखत उनी नेता र अभिनेताको नक्कल गर्न सक्ने भईसकेका थिएनन् । तर पछिका दिनहरुमा उनले रेडियो र टेलिभिजन सुन्न थाले र यसबाट चर्चित व्यक्तिहरुको क्यारिकेचर गर्न थाले । क्यारिकेचरको बारेमा उनी भन्छन्, ‘यो त भगवानको उपहार जस्तो हुँदो रहेछ । मैले जति पनि क्यारिकेचर गर्छु त्यो सबै आफै आउने हो ।’




You might also like

Comments

Loading...