बलिवुडमा काजोलको २५ वर्ष पूरा

एजेन्सी  मंसिर १८  ■ 

अभिनेत्री काजोलले बलिवुड सिनेमा उद्योगमा २५ वर्ष पूरा गरेकी छिन् । २५ वर्षिय सिने यात्राको बारेमा कुरा गर्दै उनले सिने करिअरमा कहिल्यै पनि आफूले छायाकंन स्थगित नगरेको बताएकी छिन् ।

एजेन्सीसँगको कुराकानीमा उनले अगाडि थपेकी छिन्, ‘हामीले आफ्नो समस्या बताएर काम स्थगित गर्दा अरुले त्यसबाट लाखौँको क्षती बेहोर्नु पर्छ । त्यस कारण मैले २५ वर्षको सिने करिअरमा कहिल्यै पनि फ्लाईट छुटाईन न त फ्लाईट क्यान्सिल गरेँ । तर एक पटक मैले छोरी न्यासा बिरामी भएका कारण निर्मातालाई आउन नसक्ने जानकारी दिएकी थिएँ । न्यासालाई त्यसबखत १ सय ४ डिग्री ज्वरो आएको थियो ।’
काजोल ९० को दशकमा सबैभन्दा महंगी र दर्शकले रुचाएकी अभिनेत्री थिईन् । सन् १९९२ मा सिनेमा ‘बेखुदी’ मार्फत डेब्यु गरेकी उनले सफलता भने सन् १९९३ को सिनेमा ‘बाजीगर’बाट पाईन् । यो सिनेमामा उनले अभिनेता शाहरुख खानसँग पर्दा बाँडेकी थिईन् । ‘बाजीगर’पछि शाहरुख र काजोलको जोडीलाई यति रुचाईयो की उनीहरुले लगातार सिनेमामा पर्दा बाँड्न थाले र सफलता पनि पाउन थाले । यी दुईले पर्दा बाँडेको सन् १९९५ को सिनेमा ‘दिलवाले दुल्हनीया’ले त भारतीय सिनेमाको ईतिहाँसमा छुट्टै रेकर्ड बनाएको छ । यो सिनेमा मुम्बईको मराठा चलचित्र मन्दिरमा २० वर्षसम्म प्रदर्शन भएको थियो ।

काजोलले सन् १९९८ मा काम गरेको सिनेमा ‘कुछ कुछ होता है’ सन् २००१ को सिनेमा ‘कभि खुशी कभि गम’, सन् २००६ को सिनेमा ‘फना’, सन् २०१० को सिनेमा ‘माई नेम ईज खान’ बलिवुड बक्स अफिसमा ब्लकबस्टर बनेर रहेका छन् ।

सिनेमामा काम गर्ने क्रममा प्रेममा परेपछि १९९९ मा काजोलले अभिनेता अजय देवगनसँग विवाह गरिन् । विवाह पछि छोरी न्यासालाई जन्म दिएर पनि उनले सिनेमामा काम गरिन् । आमा बनेर सिनेमामा मुख्य भूमिका निर्वाह गरेपछि पनि काजोलले तारिफै तारिफ र दर्शकको माया पाईन् । यसैको फलस्वरुप काजोलले छोरा युगलाई जन्म दिएपछि पनि अभिनयलाई निरन्तरता दिईन् । तर पहिलेको तुलनामा भने केही कमी आयो । केही वर्षको अन्तरालमा उनले सन् २०१५ मा सिनेमा ‘दिलवाले’मा काम गरिन् । यस सिनेमाबाट उनले दर्शक र शुभचिन्तकबाट प्रशंसा मात्रै बटुलिनन् बाह्रौँ पटक फिल्म फेयर अवार्डको नोमिनेशनमा समेत परिन् । अन्तिम पटक उनले दक्षिण भारतीय सिनेमा ‘भिआईपी २’ मा काम गरिन् । यस सिनेमामा उनले भिलेनको भूमिका निर्वाह गरेकी छिन् ।

काजोल १२ पटक फिल्मफेयरको नोमिनेशनमा परिन् भने ६ पटक यो अवार्ड हात पारिन् । सन् २०११ मा उनलाई भारत सरकाले पद्म भुषण अवार्डबाट समेत सम्मानित गरिसकेको छ ।

You might also like

Comments

Loading...